काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की, १११ औं टोलीबाट प्रहरी सेवामा होमिएका खरो अधिकारी हुन् । हाल कास्की जिल्लाको कमान्डमा रहेका उनी त्यसअघि तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत थिए ।
कास्की जस्तो जिल्लामा प्रभावकारी ढंगले काम गरेका कार्की साधारण व्यक्तित्व र असाधारण प्रहरी कर्मको अर्को नाम हो । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल कार्की १८ चैत, ०५४ मा प्रहरी निरिक्षकमा भर्ना भएका थिए ।
जोखिमलाई सोही हिसाबले टुंगो लगाउने दायित्व र जिम्मेवारीमा एसपी कार्की सँधै अगाडि रहे । हालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मधेसमा ठूलो विरोध चलिरहेको थियो । ०७३ मा एमाले नै मधेसविरोधी भन्ने नारा समेत लागेको थियो । सप्तरीको राजविराजमा भएको एमालेको कार्यक्रममा हिंसा भयो, जसलाई नियन्त्रण गर्न मात्र होइन ओलीलाई स्कर्टिङ गरी सुरक्षित हिसाबमा कार्कीले नै अवतरण गराएका थिए । त्यसबेला कार्की डिएसपी थिए ।
अपराध अनुसन्धानमा अझ सशक्त मानिएका कार्कीले ९ असार ०६७ मा बुटवलका व्यवसायी रमेश भण्डारी र श्रीमती आशा भण्डारीको गोली हानी हत्या गरिएको प्रकरणको अनुसन्धानलाई कार्की नेतृत्वले नै सफल बनायो । जतिबेला कार्की डीएसपीको रुपमा ईलाका प्रहरी कार्यालय बुटवलको प्रमुख थिए । उक्त घटनामा संलग्न निमप्रसाद थापा, भोलेबाबा भन्ने शम्भु गौतम, पुरन श्रीस, श्याम प्रसाद विक, राजु गलामी, अर्जुन गौतम र कृष्ण गौतम पक्राउ गरी अदालतसम्म लैजाने प्रहरी अधिकारी यीनै कार्की हुन् ।
प्रहरी सेवामा सत प्रतिशत कर्मवीरका रुपमा परिचय स्थापित गरेका कार्कीले महानगरीय प्रहरी बृत बानेश्वरमा डिएसपी हुँदा नाकाबन्दीमा जनतालाई आहत बनाउने उद्योगीलाई पनि छाडेनन् । कास्की प्रमुख हुनासाथ कार्कीको काम एक्शनमा नै देखा पर्यो । लागुऔषध कारोवारी पोखरा–१० उत्तम चोकका गोविन्द थापालाई गोली चलाएरै नियन्त्रणमा लिइयो । प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेपछि उनलाई पक्राउ गरी कानुनी दायरामा उभ्याउन कार्कीले कुनै सम्झौता गरेनन् ।
कतिपय प्रहरी अधिकारीको बुझाई छ– कार्कीजस्ता अफिसर नेतृत्वमा रहेसम्म सर्वसाधारणले प्रहरीमाथि औंला उठाउने या प्रश्न गर्नुपर्ने छैन । ठूला जिल्ला र सुविधा ताक्ने भन्दा पनि अपराध र त्यससँग जोडिएका अभियुक्तको कठालो ताक्ने प्रहरीमा गनिन्छन्, कार्की ।