गणेश मौनी । महिलाहरु महिनावारी हुदाँ छाउगोठमा नै बस्नु पर्छ नत्र देबी देवता रिसाउन्छन भन्ने चिन्तनलाई र छाउ भएकी महिलाहरु बस्नको लागि बनाएको बास्तबीक गोठलाई भत्काउन पछील्लो समयमा डोटीमा प्रहरी आफ्नो सक्रियता बढाएको छ ।
डोटीमा पुस २६ गते देखि डोटी जिल्लामा सुरु भएको छाउगोठ भत्काउने अभियानका साथै मनको छाउगोठ भत्काउने अभियानलाई समेत तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलीप सिंह देउवाले बताए । उनले भने कानुनले बन्चीत गरिएको छाउपडी कुप्रथा जस्ता कुरुतीको अन्त्येका लागि छाउगोठ भत्काउने अभियान त निरन्तर चलिरहेको छ साथै गोठ मात्र भत्काउदाँ पूर्ण रुपमा अन्त्य नहुने हुदाँ मनमा भएको डर, चिन्ता तथा मनको गोठ भत्काउनका लागि पनि जनचेतना मुलक कार्यक्रमहरुलाई समेत निरन्तर रुपमा अघाडी बढाईरहेका छौं । आशा छ न्यूनिकरणमा सहयोग पुग्छ।’ चेतनामुलक अभियान संचालन गर्दा ब्यबहार परिवर्तनका साथै सामाजिक परिवर्तन र बिकासमा समेत सहयोग पुग्ने प्रहरी उपरिक्षक देउवाले बताए ।
मंगलबार सम्म प्रहरीले डोटीमा स्थानिय बासीको सहयोग तथा जनप्रतिनिधीको सहभागितामा २ सय १० वटा छाउगोठ भत्काएको छ । बडीकेदार गाउँपालिकाबाट सुरु भएको अभियानले सोही गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका ९५ वटा गोठहरु भत्काईएका छन् । त्यसै गरि जिल्लाका अन्य स्थानिय तह जोरायल गाउँपालिकामा ३ वटा, पुर्विचौकी गाउँपालिकामा ३२ वटा र बोगटान गाउँपालिकाकामा ८० वटा छाउगोठ भत्काईएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीले पुस १५ गते छाउपडि प्रथा बिरुद्ध सक्रिय भएर लाग्न र सहयोग गर्न जिल्लाका सरोकारवाला निकायहरुलाई पत्राचार गरेको थियो । त्यस पछी पुस २० गते स्थानिय तहसंगको समन्वयात्मक बैठक गरिएको थियो । बैठकमा स्थानियतहका प्रमुखहरुले छाउपडी विरुद्ध लाग्न गोठ भत्काउने, छाउ बार्नेलाई सरकारबाट पाउने सेवा सुबिधा रोक्का गर्न, जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए ।
समाजमा रहेका विकृति बिसंगतीको अन्त्य गरि सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरु स्तरमा प्रहरीले सामुदायीक प्रहरी मार्फत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ अनुसार महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्न वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपियाँ जरिवानाको व्यवस्था रहेको छ ।