काठमाडौं । अभियोगको अनुसन्धान उनको कर्म हो । राज्यका जुन सुकै तहका व्यक्ति हुन् अभियोगको उजुरी आएपछि छानबिनमा सक्रिय हुन्छन् जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) हेमकुमार थापा ।
संगठनमा उनलाई अर्को भाषामा पनि परिभाषित गरिन्छ– घुसखोरका लागि आपत्, अपराधीका लागि विपत् । उनको कार्यकौशलताको रिपोर्टले पनि त्यहि देखाउँछ । गएको भदौमा मात्र रुपन्देहीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थापाको नेतृत्वमा विविध घटनामा सफल अनुसन्धान भएका छन् ।
महेन्द्रप्रसाद कुर्मीको गोली हानी भारत फरार रहेका अभियुक्त मनिष हरिजनलाई पक्राउ गरी कानुनी कारबाहीमा होस् या श्रीमती हत्या गर्ने शनि कुमाल कसैले पनि उम्कने मौका पाएनन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नीतिअनुसार नै महिला हिंसा र बलात्कारका अभियोगमा त झनै खरो भएर उत्रिएका छन्, थापा । के मिडिया, के सर्वसाधारण यस्तो मुद्दामा कसैलाई पनि छुट नदिने उनको नीति नै रहेको छ ।
प्रहरी संगठनमा प्रवेश गरेको धेरै समय उनी प्रतिआतंकवाद नियन्त्रण सेलमा कार्यरत थिए । त्यसैले पनि घटनाको सूक्ष्मतासम्म पुग्ने उनको बानी नै परिसकेको छ । प्रहरी अधिकारीहरू भन्छन्,‘एसपी थापा संगठनका एक चमकदार अधिकृत हुन् जसको काम गराईमा कुनै खोट लगाउने ठाउँ हुन्न ।’
रुपन्देही प्रहरी प्रमुख हुनुपूर्व उनले साढे तीन बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर भ्रष्टाचारी र घुसखोरीको सातो लिएका थिए । आयोगले गर्ने स्टिङ अपरेशनको फिल्ड कमाण्डर भएर काम गरेका उनले त्यसै बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति राजकुमार रौनियारलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरे । बहालवाला उपकुलपतिलाई घुस रकमसहित रंगेहात पक्राउ गर्नु अख्तियारको ठूलो सफलताको पछाडी थापाको कर्म थियो ।
यति मात्र होइन, जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका तत्कालीन जिल्ला न्यायधिवक्ता कोषहरी निरौलालाई पनि उनले घुस रकमसहित रंगेहात पक्राउ गरे । ‘भ्रष्टाचारविरुद्धको अभियानमा प्रहरीका निडर र पेशागत धर्मलाई सर्वोपरी मान्ने अधिकृत हुन् थापा’, उच्च अधिकारीहरू भन्छन् ।
प्रहरीमा इमानदार अधिकृतको परिचय बनाएका थापा अपराध अनुसन्धान, इन्टेलिजेन्स, अपरेसन र कमाण्ड कन्ट्रोलमा पोख्त मानिन्छन् । उनले प्रहरी संगठनमा प्रवेश गरेपछि धेरै ठाउँ युनिट प्रमुख भएर चलाएनन् । तर जहाँ चलाए त्यहाँ केही छाप छाडेरै हिँडेका थिए । इन्स्पेक्टर हुँदा तत्कालीन महानगरीय प्रहरी प्रभाग जनसेवा र डीएसपीमा महानगरीय प्रहरी बृत्त कालीमाटीमा उनको कार्यप्रगति र कमान्डलाई अहिलेसम्म संगठनमा सम्झना गरिन्छ ।
रुपन्देहीमा प्रहरी प्रमुख भएर पुगेदेखि नै थापाले तस्करहरूको ढ्याङ्ग्रो ठोक्नेगरी काम गरेका छन् । सीमा वारपार तस्करीमा सक्रिय समूह यसै कारण पनि उनीविरुद्धको प्रायोजित प्रचारबाजीमा जुटेका छन् ।
बलात्कार मुद्दामा मुछिएका केही पत्रकारलाई मुद्दा चलाएपछि थापाविरुद्ध मिडिया क्याम्पेनजस्तै हुन थालेको छ । तर उनी यसप्रति अलिकति पनि चिन्तित् छैनन् । ‘लागेको अभियोग प्रमाणित भए कारबाहीका लागि सिफारिस हुने र नभए सोहीअनुसारको कानुनी प्रक्रिया बढ्छ । कसैलाई पनि अभियोग गर्ने छुट छैन’, थापा स्पष्ट छन् । राजनीतिक आडमा रुपन्देहीमा हुने गरेका अबैध गिटी बालुवा तस्करीदेखिका अनेक धन्दा पनि थापाले बन्द गराएका छन् ।