काठमाण्डौ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि ‘नागरिक सहजकर्ता सेवा’को सुरूवात गरेको छ ।
प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित मुद्दा चल्ने प्रहरी कार्यालयमा कार्यालय समयमा नागरिक सहजकर्ताको सेवाको सुरूवात गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
‘प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सहजीकरणका लागि बुधबारदेखि नै नागरिक सहजकर्ताको ब्याच लगाई कार्यालयको प्रवेशद्वारमा नागरिकलाई सेवा दिने गरी बस्ने व्यवस्था मिलाएका छौँ’, उनले भने । कार्यालय प्रमुख पोखरेलले प्रहरीले नागरिकलाई दिने सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटोछरितो हुनुपर्ने बताए । नागरिकलाई परेको पिरमर्का आफूलाई नै परेको सरह सम्झी काम गर्नुपर्ने उनको भनाइ थियो ।
नागरिक सहजकर्ताको सेवा बुधबारबाट पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसरहरू, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर, अपराध महाशाखा र परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको छ ।