डोटी । डोटी जिल्लाको अपराध सम्बन्धी आकडाँ हेर्दा जिल्लामा आत्महत्या गर्नेको संख्यामा बृद्धी भएको देखिएको छ ।
आर्थिक वर्ष ०७३-७४ मा १२ जनाले आत्म हत्या गरेको देखिन्छ त्यस्तै गरि आर्थिक वर्ष ०७४।०७५ मा १८जनाले र आर्थिक बर्ष ०७५।०७६ मा २९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कले देखाएको छ । आत्म हत्या गर्नेमा चालु आ.व.को हाल सम्म ८जना रहेका छन् ।
प्रहरीका अनुसार जिल्लामा झुण्डिएर आत्म हत्या गर्नेको संख्या बढी , विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरुको संख्यामा पनि बर्षेनि बृद्धी भईरहेको छ ।
मानिस बढी महत्वकांक्षी बन्दै जानु, मानसिक तनाव, बहुविवाह, आत्मग्लानी र गरिबी लगायतका कारण वर्षेनी आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले बताए । उनले भने ‘आत्महत्या गर्नेहरुको संख्या बढ्दै जानु जिल्लाको लागि राम्रो होईन् आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म रुपमा अध्ययन गर्दैछौ’ विभिन्न प्रविधिको विकाससँगै मानिसहरु एक्लै बस्ने, अभिभावक हरुको व्यस्तता, लागूपदार्थको सेवन, पढाईमा असफलता, पारिवारिक असहयोग, सामाजिक बहिस्करण जस्ता कारणले पनि मानिसले आत्महत्या गर्ने पाईएको निरिक्षक बोहराले बताए । जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने सके, बेरोजगारीलाई काम दिनसके, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रम चलाउन सके आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने पनि निरिक्षक बोहराले बताए ।
प्रहरी निरिक्षक बोहराका अनुसार आत्महत्या गर्नेमा पुरुषहरुको भन्दा महिलाहरुको संख्या बढी रहेको छ । मानसिक समस्या, बेरोजगारी, व्यवसायमा असफल, घरझगडा, पारिवारिक विछोड जस्ता कारणले गर्दा आत्म हत्याका घटनाहरु बढ्दै गएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेले बताईन् । उनले भनिन् ‘ आत्म हत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या नै हो त्यसका आलावा अन्य दीर्घरोगी हुनु, घरेलु हिंसा, बढ्दो प्रविधि सामाजिक संजालसँगै आएको विकृति, माया प्रेममा धोका, पढाइमा असफल जस्ता कारणले पनि व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको छ ।’ मानसिक स्वास्थ्य समस्याका कारणले गर्दा थुप्रै अन्य समस्याहरु सृजना हुने भएकाले मानसिक समस्यालाई अति सम्बेदनशिल समस्याको रुपमा लिनुपर्ने समेत डा. पाण्डेले बताईन् ।
कुनै पनि ब्यक्ति शारिरीक रुपमा अस्वस्थ्य हुने बित्तीकै स्वास्थ्य संस्थामा उपचारको लागि जाने गरेको र मानसिक समस्याहुदाँ वास्ता नगर्ने प्रबृतिका कारण आत्महत्याका घटना बढ्दै गईरहेको उनको बुझाई छ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३।०७४ देखि चालु आ.व.को पुस महिना सम्ममा डोटीमा ६७ जनाले आत्महत्या गरेका छन् ।
अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटनाहरु वा शहरमै पनि सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरु प्रहरीको अभिलेखसम्म आउँदैनन् । प्रहरीलाई जानकारी गराए पोष्टमार्टम लगायतका कानुनी प्रक्रियाहरु पूरा गर्नुपर्ने झण्झटिलो र खर्चिलोमा लाग्नु भन्दा स्वाभाविक मृत्युु भन्दै अन्तिम संस्कार गर्ने चलनले कतिपय ग्रामीण क्षेत्रका घटनाहरु अभिलेखमा आउँदैनन् । यदि सवै घटनाको अभिलेखीकरण हुने हो भने यो संख्या अझ बढी हुने सम्भावना देखिन्छ ।