काठमाडौं । जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान ! ट्राफिक सचेतना कक्षा लिनुपर्ला । ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ, तोकिएको जेब्राक्रसबाट बाटो काट्नुभएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन भने अब सचेत रहनुहोला ।
ट्राफिक प्रहरीले अब तपाईलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपाई पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवाले २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरेका हौँ ।
एसएसपी ढकालले भने, ‘सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ । साथै, उनीहरूकै माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिनेछ ।’
महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने, ‘ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडी सञ्चालन गरेका छौँ । क्रमश: अन्य स्थानहरूमा पनि यो अभियान सञ्चालन हुनेछ ।’ ट्राफिक प्रहरीले समाते भने कक्षा नलिइ आफ्नो काममा पैदलयात्री जान पाउने छैनन् । आजमात्रै करिव १००० पैदलयात्रीलाइ सचेतना कक्षा दिईएको छ ।
ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान नै सञ्चालन गरिएको हो । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी वाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिन्छ । साथै ट्राफिक एफ.एम.९५.५ मेघाहर्जवाट पनि नियमित रूपमा पैदलयात्रीहरूले सडक प्रयोग गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरूलाई जानकारीमूलक कार्यक्रम तथा अनुरोधहरूसमेत प्रसारण गरिरहेको छ ।
यस आर्थिक वर्ष मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ । गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो ।
- पैदलयात्रुहरुलाई ट्राफिक प्रहरीको अनुरोध