काठमाडौं। महानगरिय ट्राफिक प्रहरी महाशाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूद्धारा आज सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारीहरूलाई अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ ।
सार्बजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागी सवारी चालकको महत्वपुर्ण भुमिका रहने भएकोले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुहरु प्रति सेवाभावका साथ आफुलाई बदल्न समेत यस अभियानले महत्वपुर्ण भुमिका खेल्न बिश्वास गरिएको छ ।
सवारी दुर्घटना न्युनिकरण र सहज ट्राफिक व्यबस्थापनका लागी चालकहरु व्यबसायिक, अनुशासित र दक्षताका साथ आफुलाई उदाहरणीय बनाउदै चालकहरु प्रतिको बिश्वासमा बृद्धि गर्न समेत चालकहरुलाई अनुरोध गरिएको छ ।
यसअघि एसएसपी ढकालले गत पुस १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा सादा पोसाकमा समेत अनुगमन गरेका थिए । त्यसक्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुलाई मध्यनजर गर्दै सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेका थिए । उक्त छलफलवाट १९ वुँदे प्रतिबद्वता निर्णय भएको र उक्त निर्णयहरु कार्यान्वयन गर्न आजबाट अनुगमन शुरु गरिएको हो ।
उक्त १९ बुँदे कार्यान्वयन भए/नभएको अनुगमनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाका एसपी तथा अनुगमन समितिका संयोजक राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघ जिल्ला संयोजक अरुण श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघका सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं. प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।