बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले सञ्चालन गरेको लागुऔषध दुव्र्यसन विरुद्धको अभियानमा साथ दिएको भन्दै स्थानीय तहलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयले पठाएको सम्मानपत्र बागलुङ प्रहरीले स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेको हो ।
लागुऔषध विरुद्ध एक वर्षदेखि प्रहरीले सचेतना अभियान थालेको छ । यो अभियानमा दर्जनौँ व्यक्तिलाई पक्राउ गरेर कारवाही गरेको छ भने दर्जनौँ विद्यालय, सामाजिक संस्था र कलेजमा पुगेर लागुपदार्थ सेवन गरे नगरेको परीक्षण पनि गरेको छ । यो अभियानमा स्थानीय तहले साथ र सहयोग गरेको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए ।
प्रहरीको अभियानमा निरन्तर साथ दिएको भन्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष दिल शिरिषलाई पनि सम्मान गरिएको थियो । उक्त अवसरमा प्रहरी उपरीक्षक भट्टले लागि समाज, घर परिवारको बेवास्ताले लागुपदार्थ दुव्र्यसन बढेको भेटिएको बताए । किशोर अवस्था र युवा अवस्थामा परिवारको साथ र सहयोग नपाउने, आमा बाबुसँगै नहुने, सानोतिनो गल्ती गर्दा सम्झाउने बानी नहुनु जस्ता कारणले दुव्र्यसनमा पुग्ने गरेको बताए ।
“आमाबाबुलाई थाहा छ, तर समाजको अगाडि राम्रो देखिन ‘होइन’, ‘छैन’ भन्ने प्रवृत्तिले पनि युवा दुव्र्यसनमा फसेका छन्”, भट्टले भने, “समयमा सम्झाएको भए त्यो युवा फस्ने थिएन ।” घरपरिवारले लुकाएकै कारण कतिपय युवाहरुको दुव्र्यसन परीक्षणसमेत गर्न नसकिएको उनले बताए । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दुव्र्यसनमा युवा फस्न नदिने अभियानमा प्रहरीले गरेको कामको प्रशंसा गरे । उनले जनप्रतिनिधि र नगरपालिकाको तर्फबाट संस्थागत गर्न सकिने सहयोग गर्ने बताए ।
लागुपदार्थ सेवन गरे नगरेको थाहा पाउन पिसाब परीक्षण गर्नुपर्छ । उक्त परीक्षणका लागि चाहिने किट महँगो पर्ने भएकाले प्रहरीले खर्च गर्न नसकेको समेत बताइएको छ । विभिन्न सङ्घ संस्था, सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखा र गुठी लगायतबाट पाएको सहयोगले धेरै काम गर्न सकिएको उनले बताए । पौडेलले प्रहरीको यो अभियानका लागि तत्काल एक सय जनालाई परीक्षण गर्न सहयोग दिने घोषणा गरे ।
उक्त अवसरमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले युवा दुव्र्यसनमा फस्दा समाजको विकासक्रमसमेत रोकिने बताए । उनले त्यसका लागि नगरपालिकामा प्रहरीको अभियानलाई निरन्तर स्वागत गर्ने भन्दै आवश्यक किटका लागि पनि साथ दिने भनाइ राखे ।
ग्रामीण बस्तीमा पनि युवामा दुव्र्यसन बढेको भन्दै गलकोट नगरप्रमुख भरत शर्मा गैरे, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा र तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पनि साथ दिने बताए । अभियानका लागि प्रहरीले आमा समूहलाई परिचालन गरेको छ । जिल्लाका सहकारी संस्था, आमा समूह र अन्य संस्थाको माध्यम बनाएर परीक्षणका लागि किट खरीद गर्ने काम बाहेक अभिमूखिकरण र सचेतना अभियान पनि चलाएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष प्रहरीले दुईवटा नागरिक सुनुवाइ, तीन वटा प्रहरीसँग एक दिन, १२ वटा अभिमूखिकरण, दुई स्थानमा गाँजा फँडानी, आठ स्थानमा सफाइ, ४० वटा विद्यालय कार्यक्रम र ३१ वटा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम गरेको थियो ।
चालू वर्ष पनि प्रहरीले दुईवटा प्रहरीसँग एक दिन, पाँचवटा अभिमूखिकरण, चार स्थानमा सफाइ, दुई स्थानमा गाँजा फँडानी, ९४ वटा लागुपदार्थ विरुद्धको अभिमुखिकरण र ८० वटा विद्यालय अभियान सञ्चालन गरेको हो । बजेट अभावले सोचेका सबै स्थानमा कार्यक्रम गर्न नसकिएको भट्टको भनाइ थियो । राजनीतिक दल, सामाजिक संस्था र स्थानीय तहको सहयोग पाउँदा दुव्र्यसन विरुद्धको अभियानमा सफलता पाउन सकिने उनले बताए । रासस