काठमाडौँ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पुस १४ गते नेपाल प्रहरी अस्पतालको प्राविधिक अतिरिक्त महानिरीक्षक (एआईजी) तथा कार्यकारी निर्देशकमा प्राविधिक डीआईजी आशा सिंहलाई सिफारिस गर्यो ।
डीएसपीदेखि डीआईजीसम्म बढुवाको वरीयताक्रममा १ नम्बरमा रहेका मीनराज पाठकको सट्टा दोस्रो नम्बरकी सिंहलाई एआईजीमा सिफारिस गरिएको थियो । तिनै सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई यूएनको तक्मा लगाएको भेटिएको छ ।
अस्पतालकी एआईजी दुर्गा थापा पुस ४ गते अवकाश भएपछि वरिष्ठ डीआईजीका रूपमा पाठकलाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर ०७४ र ०७५ को कार्यसम्पादन मूल्यांकनमा अस्पतालका वरिष्ठ डीआईजी पाठकभन्दा सिंह अगाडि रहेको पाइएपछि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । पाठक वरिष्ठ बालरोग विशेषज्ञ र सिंह महिला रोग विशेषज्ञ हुन् । ०५२ सालमा सँगै सेवा प्रवेश गर्दा निरीक्षकमा सिंह पहिलो नम्बरमा थिइन् । त्यसपछि पाठक लगातार पहिलो र सिंह दोस्रो नम्बरमा थिए ।
कान्तिपुरलाई प्राप्त सिंहको डीआईजी पोसाक रहेको तस्बिरको बायाँतर्फ तल्लो भागको पदक यूएनमा सेवा गरेबापत पाउने सम्मान हो । सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने तक्मा लगाएको देखिन्छ । युनाइटेड नेसन्स मिसन इन सुडान (अनमिस) बाट प्राप्त हुने तक्मा सिंहले लगाएकी छन् । तर प्रहरीको अभिलेखअनुसार सिंहले कुनै पनि मिसनमा भाग लिएकी छैनन् । सिंहले पनि आफू शान्ति मिसन नगएको कान्तिपुरलाई बताइन् ।
प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले यस विषयमा आफूलाई जानकारी नभएको बताए । तर प्रवक्ता थापाले मिसनमा सहभागी नभई ‘राष्ट्रसंघमा योगदान गरेबापत पाउने सम्मान वा पदक’ लगाउनु गैरकानुनी हुने बताए । ‘सिंहले मिसन नगई तक्मा लगाएको विषयमा मौखिक उजुरी आए पनि लिखित रूपमा कुनै निवेदन परेको छैन,’ गृह मन्त्रालय स्रोतले भन्यो । अनधिकृत रूपमा राष्ट्रसंघको तक्मा लगाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र गृहसचिव राईलाई जानकारी गराइएको प्रहरी स्रोतले बतायो ।
शान्ति मिसनमा नगई किन राष्ट्रसंघीय मिसनको पदक लगाउनुभयो भनेर कान्तिपुरले सोध्दा सिंहले ‘मैले पदक लगाएर के फाइदा लिएकी छु र यो प्रश्न गर्दै हुनुहुन्छ ?’ भन्दै आक्रोश व्यक्त गरिन् । मिसन नै नगई पदक लगाउनु गैरकानुनी होइन र भन्ने प्रश्नमा उनले आफू बढुवामा सिफारिस भएपछि नरुचाउनेले ‘अनर्गल प्रचार’ गर्न राष्ट्रसंघको पदकको विषय निकालेको बताइन् । ‘प्रविधिको जमानामा पदक टाँसेर फोटो प्रचार गरेको पनि हुन सक्छ,’ उनले भनिन् ।
तर ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’, तत्कालीन एआईजी दुर्गा थापाको बिदाइ समारोहलगायत थुप्रै सार्वजनिक कार्यक्रममा तथा कार्यकक्षमा रहँदा सिंहले पोसाकमा सुडान मिसनमा गएबापतको राष्ट्रसंघीय तक्मा लगाएको फोटोमा देखिएको छ । अहिले सिंहले लगाएको पोसाकमा भने सुडान मिसनको पदक देखिँदैन । आफू संगठनमा सधैं अब्बल रहेर पनि अन्याय हुँदै आएको र अहिले बढुवा सिफारिस समितिले सही मूल्यांकन गरेको उनले दाबी गरिन् । डीआईजी पाठकले भने आफूले सिफारिसविरुद्ध लोकसेवामा उजुरी दिएका कारण थप नबोल्ने बताए । ‘लोकसेवाबाट निर्णय नभएसम्म मेरो कुनै टीकाटिप्पणी छैन,’ उनले भने ।
कासमूमा प्रश्न
पाठकले बढुवा सिफारिसविरुद्ध उजुरी दिएपछि लोकसेवा आयोगले दुवै डीआईजीको ३ वर्षको कार्यसम्पादन मूल्यांकन नम्बर झिकाएको छ । पाठकले शुक्रबार लोकसेवामा निवेदन दिएका थिए । कान्तिपुरलाई प्राप्त विवरणअनुसार ०७४ र ०७५ मा पाठकभन्दा सिंहको कासमू नम्बर बढी छ । ०७४ मा अस्पतालका एआईजीले पाठकलाई २०पूर्णाङ्कमा १६ र सिंहलाई १९.७५ नम्बर दिएको उल्लेख छ । त्यही वर्ष आईजीपीले विशेष चुनौतीपूर्ण कार्य गरेबापतको पूर्णाङ्क ५ मा पाठकलाई ३ दशमलव ५ र सिंहलाई ५ नम्बर नै दिइएको छ ।
यसैगरी ०७५ मा अस्पतालका कार्यकारी निर्देशक (एआईजी) ले २० मा पाठकलाई १४ दशमलव २५ र सिंहलाई २० नम्बर दिइएको देखिन्छ । कार्यसम्पादन मूल्यांकनमा कसैलाई शतप्रतिशत नम्बर दिँदा विशेष कारण खुलाउनुपर्छ । घटी नम्बर दिँदा पनि के कारणले दिइएको हो, खुलाउनुपर्छ ।
आफूले उत्कृष्ट काम गरेकाले बढी नम्बर पाएको सिंहको दाबी छ । पाठकले भने प्रतिस्पर्धी उम्मेदवारबीच अस्वाभाविक रूपमा तलमाथि हुने गरी नम्बर दिइएको भन्दै अनुसन्धान गर्न लोकसेवासमक्ष माग गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।