काठमाडौं । २०७२ साल असोज २२ देखि २०७३ माघ २३ सम्म तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र (हाल तीन नम्बर प्रदेश प्रहरी तालिम केन्द्र) दुधौली सिन्धुलीको समादेशक (कमाण्डेण्ट) थिए हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशबिक्रम शाह । अनि लेखापाल थिए, हाल जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र प्रसाद पनेरु ।
तीसबर्षे सेवाहदका कारण दुई दिनपछी अर्थात पुस २३ देखि अनिवार्य अवकाश पाउन लागेका डीआईजी शाह अहिले राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत छन् ।
दुई दिन पछि सेवानिवृत्त हुन लागेका डीआईजी शाहले तालीमे प्रहरी जवानको तलब भत्ता र राशन बापतको करिब ३१ लाख रुपैयाँ सरकारी राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ ।
डीआईजी शाह दुधौली तालिम केन्द्रको प्रमुख हुँदा लेखापालसंग मिलेर अनाधिकृत रुपले तालिममा आएका रिक्रुट प्रहरी जवानको तलबभत्ता र राशन बापतको रकम अनियमितता गरेको भन्दै केही समय अगाडी प्रहरी महानिरीक्षक (आईजी) को सचिवालयमा उजुरी परेको थियो ।
उजुरी आएपछि प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले उक्त बिषयको अनुसन्धानको जिम्मेवारी सचिवालय अन्तर्गतको प्रहरी निरिक्षणालयलाई दिएका थिए । त्यसपछि निरिक्षणालयले दुधौली तालिम केन्द्र र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट कागजात झिकाएर छानबिन गरेको थियो । हालको भरतपुर शिक्षालयमा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र थियो । त्यसबेला भरतपुर तालिम केन्द्रलाई जुनियर प्रहरी अधिकृत शिक्षालय कायम गरि सिन्धुलीको दुधौलीमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सारिएको थियो । जुन तालिमकेन्द्र सर्ने बित्तिकै तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शाहले समादेशकको जिम्मेवारी पाएका थिए ।
अख्तियारसम्बद्ध उच्च स्रोतका अनुसार अन्यत्र दरबन्दी भएका रिक्रुट जवानको नाममा दुधौली तालिम केन्द्रबाट तलबभत्ता र राशन बापतको रकम निकासा गरेर करिब ३१ लाख रुपैयाँ भ्रष्टाचार गरेको छानबिनमा खुलेपछि थप कारबाहीको लागि प्रहरी प्रधान कार्यालयले सम्पुर्ण विवरण सहितको छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
प्रतिवेदन अनुसार २०७२ माघ र फागुन महिनामा सय भन्दा बढी रिक्रुट प्रहरी जवानहरुले आफ्नो तलबभत्ता र राशन सम्बन्धित दरबन्दीबाट बुझेका छन् तर डीआईजी शाह र लेखापाल पनेरुले त्यसबेला मध्य क्षेत्रीय तालिम केन्द्रबाट दुई महिनाको (२०७२ माघ र फागुन) दोहोरो तलब निकालेर नक्कली फाँटवारि खडा गरेर अनियमितता गरेको भेटिएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ ।
लेखापालको राजिनामा स्वीकृत हुनबाट रोकियो
प्रहरी प्रधान कार्यालयले छानबिन शुरु गरेको सुइँको पाएपछी दुधौली तालिम केन्द्रका तत्कालीन लेखापालले राजिनामा पेश गरेका छन् । तर प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको भन्दै तत्कालीन लेखापाल प्रहरी नायब निरिक्षक (सई) दीपेन्द्रप्रसाद पनेरुको राजिनामा स्वीकृत स्वीकृत नगरी रोकेर राखिदिएको छ ।
डीआईजी शाह भन्छन्: यस्तो कुरा कल्पना पनि गर्न सकिन्न
अनियमितताको आरोप लागेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशबिक्रम शाहले तालिम केन्द्रको कमाण्डेण्टले तालिमे सिपाहीको तलब भत्ता र राशनमा अनियमितता गरेको भन्ने बिषय आफुले कल्पना पनि गर्न नसक्ने बताएका छन् । 'यस बारेमा मलाई कतैबाट सोधिएको पनि छैन, मलाई जानकारी पनि छैन, यो लुकिछिपी गर्न मिल्ने कुरा पनि होईन । डीआईजी शाहले भने । 'डकुमेन्ट नहेरी केही भन्न सक्दिन ।'
उनी आर्थिक बिषय लेखापालको जिम्मेवारीको कुरा भएको भन्दै पन्छिन खोजे । 'कार्यालय प्रमुखको हिसाबले जिम्मेवारी त तपाईंको पनि रहला नि?' भन्ने सम्वाददाताको प्रश्नमा डीआईजी शाहले कार्यालय प्रमुखको हैसियतले आफ्नो नैतिक दायित्व रहने बताउँदै आफुले त्यसो नगरेको दावी गरे ।