काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला प¥यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पु¥याई मोटरसाइकल खतिवडालाई बुझायो । दैनिक काम समेत अवरूद्ध भइरहेको अवस्थामा प्रहरीबाट मोटरसाइकल पाएपछि भावुक हुँदै प्रहरीले जनताका लागि गरेको कामप्रति उनले खुशी व्यक्त गरे ।
त्यसैगरी धादिङ सेर्तुङ–३ निवासी बेमान तामाङको मोटरसाइकल पनि चोरी भयो । मोटरसाइकल चोरी भएपछि दैनिक रुपमा काम गर्न निकै समस्या प¥यो । उनले प्रहरीमा उजुरी दिए । ट्राफिक प्रहरीले खोजी तथा अनुसन्धान गर्दै जाँदा चोरी गरी लुकाएर राखेको स्थानबाट मोटरसाइकल फेला प¥यो । हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनी अझै बढी खुशी भए । ‘चोरी भएको मोटरसाइकल यसरी फेला पर्छ भन्ने लागेकै थिएन,’ उनले भने, ‘प्रहरीले गरेको काम देखेपछि प्रहरीप्रति पूर्ण विश्वास लाग्यो ।’
खतिवडा र तामाङ जस्तै धेरैको मोटरसाइकल चोरी हुने गरेको छ । यो क्रमलाई रोकथाम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले कार्ययोजना नै बनाएर काम गर्न अगाडि बढेको छ । यस सम्बन्धमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त भन्छन्, ‘चोरी भएका मोटरसाइकल खोजतलासको काममा पीडित सहायता इकाईका प्रहरी कर्मचारीहरू सादा पोसाकमा खटिन्छन् । शंकास्पद मोटरसाइकल जाँच गर्ने, वर्कशपमा चेक गर्ने, इन्जिन तथा चेसिस नम्बर जाँच गरी रुजु गर्ने र चोरीको हो वा होइन पत्ता लगाउने गरिन्छ । पीडितको निवेदनको आधारमा कम्प्युटर फाइलमा इन्जिन नम्बर तथा चेसिस नम्बरको खोजी समेत गरिन्छ । यसबाट हराएको र नहराएको एकिन हुन्छ ।’
विशेष गरी लक भाँचिएको, वायरिङका तारहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको मोटरसाइकल बारेमा थप अनुसन्धान हुन्छ । मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ । समय समयमा सचेतनामूलक पर्चा वितरण पनि गर्ने गरिन्छ । धेरै जसो साँझ र रातको समयमा घर कम्पाउण्डको ताला फुटाएर मोटरसाइकल चोरी हुने गरेको भेटिने गरेको छ ।
चोरीका मोटरसाइकल प्रायः दुर्गम बस्तीमा घाँस दाउरा बोक्न, दुध ओसार पसार गर्ने काममा प्रयोग हुने गरेका पाइन्छ । राजधानीका मोटरसाइकल दुर्गम जिल्लामा लगेर नक्कली ब्लुबुक बनाएर चलाउने, नयाँ मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने र काम नलाग्ने पार्टपूर्जा बेवारिसे अवस्थामा फाल्ने गरेकाले पनि मोटरसाइकल फेला पार्नमा समस्या देखिएको छ । चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउन अल्छी नमान्ने र सम्भव भएसम्म जिपिएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरीबाट सुरक्षित रहन सकिने प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताउँछन् ।
चालू आर्थिक वर्षको आठ महिनामा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट १ हजार ३ सय ९८ वटा मोटरसाइकल चोरी भएको तथ्यांकले देखाएको छ । तीमध्ये ३ सय ७६ वटा मोटरसाइकल फेला परेका छन् । फेला परेकामध्ये २ सय ६३ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई तथा ९९ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ । वाँकी ३० वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाउन वाँकी छन् । चोरीमा संलग्न ६९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको छ ।
यसैगरी आ.व.२०७४/७५ मा १ हजार ६ सय ३४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ४ सय ८१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको थियो । ३ सय ४१ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाएको थियो भने ८३ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको थियो । वाँकी ८९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउन वाँकी छन् । ट्राफिक प्रहरीले ४२ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो ।