काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको जिम्मेवारी परिवर्तनको तयारी थालेको छ । प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालको सिफारिसमा गृहमन्त्रालयले केहिदिनमै एसएसपीहरुको सरुवा गर्ने तयारी थालेको उच्च स्रोतले जानकारी दियो ।
उच्च स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले आफुलाई काम गर्न असजिलो भएको भन्दै सरुवा मागेका छन् । सुवेदीले आफ्नो सरुवा गरिदिन भन्दै गृहमन्त्रालयका केही उच्च अधिकारीलाई गुनासो गरेपछि एसएसपी सरुवाको गृहकार्य शुरु भएको हो ।
एसएसपी सुवेदीसंगै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा समेत अबको करिब दुई महिनामा डीआईजीमा बढुवा हुने भएकोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तनको लागि गृहकार्य भईरहेको उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दीपक थापा र महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी उमेशराज जोशीलाई पठाउने तयारी गरेका छन् । एसएसपी थापा अहिले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुख छन् भने एसएसपी जोशी प्रहरी महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको सह - प्रवक्ताको जिम्मेवारीमा छन् । थापा र जोशी दुबैजना व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
एसएसपी भोजजंग शाहले अवकाश पाएपछी संघीय प्रहरी इकाई कार्यालय बागमती (काभ्रे) र बिभुतीराज पाण्डेले अवकाश पाएपछि प्रहरी प्रधान कार्यालयको युएन महाशाखा पनि नेतृत्वबिहिन छ । उता व्यावसायिक आचारसंहिता बिपरित काम गरेको उजुरी परेपछि संघीय प्रहरी इकाई कार्यालय गण्डकी (पोखरा) कि एसएसपी पुजा सिंह र संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी शौरभ राणालाई जिम्मेवारीबाट हटाउने बिषयमा गृह मन्त्रालयमा छलफल भएको बुझिएको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा पठाउने डीआईजी नपाएपछि एकबर्षे कार्यकाल पूरा गरिसकेर पनि डीआईजी निरज शाहीको सरुवा हुन सकेको छैन ।
डीआईजी नपाएपछी सिनियर एसएसपी मध्येबाट एकजनालाई निमित्त इन्चार्जको जिम्मेवारी दिएर सीआईबी पठाउने तयारी थालिएको छ । त्यसो हुँदा सीआईबीमा कार्यरत एसएसपी रामदत्त जोशीलाई त्यहाँबाट हटाएर अन्य कार्यालयमा पठाउने बिषयमा समेत छलफल भएको प्रहरी प्रधान कार्यालय स्रोतको दावी छ ।