काठमाडौं । कुनै समय यस्तो थियो कि, एआईजी छँदा शैलेन्द्र खनाल दिनहुँजसो तत्कालिन माओवादी केन्द्र तथा हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि बलदेब खनाल, वर्षमान पुनलगायतका नेताहरुको घर पुग्ने गर्दथे ।
आईजी बन्नका लागि त्यतिबेला खनाल खुलमखुल्ला नेताका घरदेखि भारतीय दूतावाससम्म पुगेको समाचार सर्वत्र छाएको थियो । खनाल आईजी बनेपछि पनि प्रचण्डको घर धाउन भने छाडेका छैनन् । तर, अहिलेको समयमा भने उनी आफ्नो लागि नभई आफू निकटका डीआईजीहरुका लागि प्रचण्डको घर धाउने गरेका हुन् । केही दिन अघि आईजी खनाल डीआईजीहरुलाई लिएर प्रचण्ड निवास पुगेपछि सशस्त्रमा सनसनी मच्चिएको छ ।
आईजी खनाल आफु निकट डीआईजीहरुको जागिरको अबधि लम्ब्याउनका लागि प्रचण्डकहाँ पुगेका हुन् । केही डीआईजीले जागिर अवधि ६ वर्ष बनाउन सशस्त्र प्रहरी नियमावली संशोधन गराउने चलखेल अघि बढाएपछि खनालले पनि त्यसलाई साथ दिएका हुन । सेवा अबधि ५ वर्ष पुरा गरेर अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन डीआईजीहरु सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द्र धितालले नियमावली संशोधन गरेर आफ्नो जागिर लम्ब्याउन खोजेका छन् । डीआईजीको पाँच वर्षे पदावधिका कारण आगामी साता उनीहरुले अनिवार्य अवकाश पाउँदैछन् ।
नियमावली संशोधन गर्दा गलत नजिर बस्ने र तल्लो तहका प्रहरीको करिअरमा असर पर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव प्रेमकुमार राईले प्रस्ताव नै अगाडि नबढाएपछि आईजी खनालको योजना असफल भएको छ । आईजी खनालले प्रचण्डमार्फत मन्त्री र सचिवलाई दबाब दिन थालेको पनि गृह स्रोतको भनाई छ ।
आईजी खनालका बिश्वासपात्र डीआईजी सुरज श्रेष्ठका लागि यो सब नाटक गरिएको असन्तुष्ट एक प्रहरी अधिकारीले बताए । सशस्त्रमा सरुवा, बढुवा, टेण्डर र बिदेशमा तालिममा पठाउँदा डीआईजी श्रेष्ठमाथि भ्रष्टाचार गर्ने गरेको आरोप लागेको छ । सशस्त्रका भन्डार, बजेट, लेखा, प्रबन्ध सबैतिर खनाल र श्रेष्ठले आफ्ना निकट एसपी, डीएसपीहरु राखेर खरिदमा ब्रम्हलुट मच्चाउँदै आएका छन् । आईजी खनाल श्रेष्ठलाई एआइजी बढुवा गरि आईजी बनाउने दाउमा १ बर्षदेखि रातदिन लागेका थिए ।
तर ७७ हजार सख्या भएको नेपाल प्रहरीमा ३ एआईजी मात्र हुँदा भएको छ । ३७ हजार मात्र भएको सशस्त्रमा तीनै एआईजी छ्न । गृह मन्त्रालयले थप आवश्यक नभएको बताएपछि दरबन्दी थपको प्रयास असफल भयो । आफ्ना विश्वासपात्र डीआईजीको बढुवा नहुने भएपछि आईजी खनाल नियमावली परिवर्तन गरि १ बर्ष थप गर्न लागेका छ्न । आजको युनाइटेड पोस्ट साप्ताहिकमा समाचार छ ।