बर्दिया । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका-७ शहिदगेट चोकमा मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया, सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजना तथा लायन्स क्लब अफ बर्दियाको सहकार्यमा चिसो मौसमबाट प्रभावित हुनबाट जोगिनको लागि ‘शितलहरबाट बचौं र बचाऔं’ भन्ने बिषयमा अडियो तथा जिगंल समेत सुनाइएको थियो ।
साथै उक्त कार्यक्रममा हुस्सु तथा कुहिरोको कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी, तीब्र गतिमा सवारी नचलाउने, लाईट बालेर सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, ओभरटेक गर्दा साईडलाईटको प्रयोग गर्ने, आरक्षण सिट अनिवार्य रुपमा कार्यान्वयन गर्ने लगायतका विषयमा सवारी चालकहरुलाई जनचेतनामूलक प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।
बर्दियाका जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, लायन्स क्लब अफ बर्दियाका अध्यक्ष माधब बहादुर कुंवर, क्याप बर्दिया संस्थापक प्रतिनिधि, उद्योग बाणिज्य संघ बर्दियाका प्रतिनिधि, पत्रकार, स्थानिय भद्रभलादमी, बुद्धीजिवी, समाजसेवी र सवारी चालकहरु लगायतको सहभागिता रहेको थियो ।