काठमाडौं । प्रहरी मुख्यालयले ४५ एसपीको जिम्मेवारी हेरफेर गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आइतबारको निर्णय अनुसार १८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सरुवा सुचीअनुसार कास्की प्रहरीको कमाण्ड आइजी सचिवालयका दानबहादुर कार्कीले पाएका छन् भने पर्सामा अपराध महाशाखाका सोमेन्द्रसिंह राठौर गएका छन् । प्रहरीमा व्यावसायिक एवम् साहसी प्रहरी अधिकृतको छवि बनाएका कार्की र राठौर अपराध अनुसन्धान, कमाण्ड कन्ट्रोल र पुलिसिङमा अब्बल मानिन्छन्। कडा मिजासका कार्कीले डीएसपी हुँदा इलाका प्रहरी कार्यालय बुटवल र महानगरीय प्रहरी बृत नयाँबानेश्वरको सफल कमाण्ड गरिसकेका छन् ।
डीएसपीको रुपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र महानगरीय प्रहरी बृत लैनचौर (सोह्रखुट्टे) को सफल कमाण्ड सम्हालेका राठौर अपराध महाशाखामा सयौं जटिल मुद्दाको सफल अनुसन्धान गरिसकेका छन् । आइजीपी खनालको स्टाफ अफिसरको रुपमा कार्यरत कार्कीको सरुवा भएपछि एसपी रमेश थापालाई स्टाफ अफिसरको जिम्मेवारी दिने तयारी गरिएको स्रोतको भनाइ छ ।
आइतबारको सरुवामा मोरङको प्रहरी नेतृत्व पनि परिवर्तन गरिएको छ। मोरङका एसपी मनोज केसीलाई प्रहरी मुख्यालयको अन्वेषण योजना निर्देशनालय ल्याएर उनको ठाउँमा एसपी बिश्व अधिकारीलाई पठाइएको छ । अधिकारी पनि व्यावसायिक अधिकृतको रुपमा परिचित छन् ।
सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा दानबहादुर मल्लको सरुवा भएको छ। भने चितवनका सुशीलसिंह राठौरलाई अपराध महाशाखा ल्याइएको छ । पाल्पामा श्यामकृष्ण अधिकारी, नवलपरासी (पश्चिम) मा लालमणी आचार्य, सुनसरीमा यज्ञविनोद पोखरेल, सिराहामा उमाप्रसाद चतुर्वेदी, काभ्रेमा जयराज सापकोटा, उदयपुरमा वीर बहादुर बुढा, सप्तरीमा मनोज यादव, नवलपुरमा मोहन पोखरेल, भक्तपुरमा सविन प्रधान, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डे र कैलालीमा सुदीप गिरिको सरुवा भएको छ। कैलालीका एसपी आभुषण तिम्सिनाको केन्द्रिय अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ । त्यस्तै एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमा भिम दाहाल र पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा मधुसूदन लुइँटेलको सरुवा गरिएको छ ।
हेर्नुहोस सरुवा सुची