काठमाडौं । समुदाय-प्रहरी साझेदारी अन्तर्गत ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ महानगरीय ट्राफिक प्रहरी महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमवीच सुभारम्भ भएको छ ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनचेतनाको निम्ति सडक सुरक्षा कार्यक्रम एजेण्डाको रुपमा रहेको चर्चा गर्दै यस अभियान कार्यान्वयनको लागि सरोकारवाला निकायहरुको सहकार्य अतुलननीय रहेको उल्लेख गरे । साथै मानविय त्रुटिमा कमी ल्याई सवारी दुर्घटनामा न्यूनीकरण गर्न अभियान सफल बनाउनुपर्ने समेत उनले बताए ।
कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष सोम तामाङ र हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्माले अभियानको महत्व तथा सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
महानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले अभियानबारेमा जानकारी दिएका उक्त कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
महानगरीय ट्राफिक प्रहरी माहाशाखाको आयोजना र सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको उपस्थितिमा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरुको सहकार्य र सक्रिय सहभागितामा ट्राफिक नियम सम्बन्धी चेतना अभिवृद्धि गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्ने उद्देश्यले उक्त अभियान सुभारम्भ गरिएको हो ।
ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्याउने, ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वत: आम प्रवृत्तिको रुपमा विकास गर्ने, सडक प्रयोगकर्ताहरुसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, सडक दुर्घटनालाई न्यूनीकरण गरी धनजनको क्षति कम गर्ने, ‘समुदाय-प्रहरी साझेदारी’ अवधारणालाई नागरिकमैत्री बनाउँदै जनविश्वास आर्जन गर्ने र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उक्त अभियानको प्रमुख उद्देश्य रहेको महानगरीय ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ ।
सो महाशाखा तथा मातहतका ४० वटा ट्राफिक कार्यालयहरुले लक्षित समूह पहिचान गरी अभियान संचालन गर्ने र तीन महिनामा एक लाख जनालाई सचेतना गराउने लक्ष्य रहनुका साथै समुदाय-प्रहरी साझेदारीमा आवद्ध पदाधिकारीसँग समन्वय गरी पर्चा, पम्पलेट, स्टिकर वितरण र श्रव्यदृश्य प्रदर्शनी मार्फत ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र नीजि क्षेत्रका चालकहरुलाई पायक पर्ने ठाउँमा सचेतना कक्षा लिने तथा स्कुल-कलेजका बिद्यार्थीहरुलाई कलेज/बिद्यालयमै गएर कक्षा लिने उक्त अभियान अन्तर्गत कार्ययोजना रहेको कार्यक्रममा जानकारी दिइयो ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, वरिष्ठ प्रहरी अधिकृतहरु,लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।