काठमाडौं। गएराती धनुषाको क्षिरेश्वरनाथमा भएको बम बिस्फोटमा घाइते भई उपचारको क्रममा रहेका आफ्ना सहकर्मी प्रहरी अधिकृतले ज्यान गुमाएपछी नेपाल प्रहरीको इन्टरपोल शाखामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्तले आफ्नो फेसबुक वालमा भावुक स्ट्याटस लेख्दै पीडा पोखेकी छन्। शुक्रबार राती धनुषाको क्षिरेश्वरनाथमा भएको बम बिस्फोटमा घाइते भई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमीरकुमार दाहालको मृत्यु भएको थियो।
शनिबार एकाबिहानै आफ्ना सहकर्मी गुमाएको पीडा पोख्दै लेखेकी छन् 'प्रहरी सेवा प्रवेश गर्दा नै हामीले देश र जनताको निम्ति आवश्यक पर्दा जिवन त्याग्न तयार रहने प्रण गरेको हुन्छौ। तर पनि मृत्यु सबैलाई दुख्छ र दुख्छ हामीलाई पनि । झन कर्तब्य पालना गर्दागर्दै कसैको निशानामा परि कोहिपनि प्रहरीले जिवन गुमाउनु पर्दाको पिडा अक्षरबाट ब्यक्त गर्न सकिदैन। यद्धपि प्रहरीलाई आक्रोशित हुने छुट हुदैन, संयम गुमाउने छुट हुदैन र सम्हालिएर कर्तब्यमा अगाडि बढ्नु नै पर्छ । कसैको मृत्युमा आफनो सफलता खोज्ने कायरहरुलाई ढिलो चाँडो कठघरमा ल्याएर नै सहादत पाउने सहकर्मीको आत्मालाई शान्ति दिनु पर्छ। धनुषामा भएको विस्फोटमा परेर जीवन गुमाउनु भएका प्रहरी निरीक्षक अमीर दाहाल एवं अन्य मृतकहरुको सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना अनि घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको शुभकामना।'
गएराती क्षिरेश्वरनाथ ५ धनुषाका स्थानीय ४६ वर्षका राजेश साहको घरमा अज्ञात समूहले राखेको बम बिस्फोट हुँदा साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार गएराति मध्यरातमा बम विस्फाेट भएकाे हाे। राति करिब पाैने १२ बजे राजेशले शाैचालय जाने क्रममा घरकाे गेटमा बम राखेकाे झाेला झुन्डाएकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टाेलीआएर बम राखिएकाे झाेला निकाल्ने क्रममा विस्फाेट भएकाे बताइएकाे छ। बम बिस्फोटमा परी प्रहरी निरिक्षक दाहाल र प्रहरी जवान रिजन महतो पनि गम्भीर घाइते भएका थिए। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि घाइते सबैलाई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो।
शनिबार बिहान पौने सात बजे चिकित्सकहरुले इन्स्पेक्टर दाहाललाई मृत घोषित गरेका थिए। घटनास्थलमै ज्यान गुमाएका राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि गम्भीर घाइते छन्। प्रहरी जवान रिजन महतो सहित घाइते सबैको धरानमा उपचार भइरहेको छ।
बिस्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत थिए। घटना सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान शुरु गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रध्युम्नकुमार कार्कीले बताएका छन्।