काठमाडौं । नेपाल प्रहरीका डिएसपी रुगम कुँवरले भनेका छन्,‘मेरो औंला भाँचेपछि आत्मरक्षाका लागि मैले शिवबहादुर कार्कीमाथि लात हालेको हो । तर, उनले जुन अवस्था सृजना गर्न खोजेका थिए त्यसको परिणाम कस्तो हुन्थ्यो भनेर पनि सोच्नुपर्छ । यसक्रममा भिडभाडमा पत्रकार पनि पर्नुभएछ त्यसमाचाहिँ दुख लागेको छ ।’
२४ मंसिरमा १३ औं दक्षिण एसीयाली खेलकुद (साग)को ११ दिनकै सुरक्षामा खटिएका थिए डिएसपी कुँवर । महानगरीय प्रहरी वृत्त कालिमाटीको इलाका पर्ने भएका कारण १० दिनसम्म उनको सुरक्षा दिने तरिकादेखि शान्ति सुव्यवस्थाको व्यापक प्रशंशा भयो । तर ११ औं दिन जव चुनौतिपूर्ण समय, खेल, अवस्था थियो । त्यसबेला सुरक्षाका पनि अनेक चुनौति देखिएका थिए । सो क्रममा कार्की र उनको समूहको हुलदुंगालाई नियन्त्रण गर्ने क्रममा डिएसपी कुँवरको औंला भाँचिदिए । एकातिर भीआइपी सुरक्षा, विदेशी पाहुनाको सुरक्षा, दर्शकको सुरक्षा, अवस्थालाई शान्तिपूर्ण बनाउन उनले आत्मरक्षा गर्न जरुरी थियो । जहाँ, उनले दुई लात्ती चलाएको स्वीकारेकै छन् ।
शान्ति सुरक्षाका लागि खटिएको प्रहरीले भिड नियन्त्रणका क्रममा गर्ने कर्तव्य तालिममा सिकाइएका हुन्छन् । आफैंमाथि आक्रमण भएको खण्डमा उसले आत्मरक्षाका लागि घुँडामुनी गोली समेत हान्न सक्ने प्राधिकार छ । तर, औंला नै भाँच्ने कार्कीलाई डिएसपी कुँवरले लात्ती मात्रै हानेर नियन्त्रणमा लिएछन् ! अर्को, आत्मरक्षाका लागि प्रहरीले लाठीमात्र प्रयोग गर्नुपर्छ भन्नेचाहिँ न्यायीक तर्क हुन नसक्ला । भाटाले मात्रै हान्न पाउने, लात्ताले हान्न नपाउने हो भने बेसिक तालिममा जुडो, कराते र तेक्वान्दोलाई किन अनिवार्य गर्नु ? सकभर प्रहरी अधिकारीले विवेकपूर्ण समाधान निकाल्नुपर्छ भन्ने हो, लात्ती नै हान्नुपर्छ भन्ने होइन । तर डिएसपी कुँवरले नै परिस्थितिको व्याख्या गरेका छन्, खेलकुद परिषद्को मेडिकलले प्रष्ट भनेको छ– औंला भाँच्चियो । यस्तो अवस्थामा क्षणिक आवेश भन्दा पनि विवेकपूर्ण समाधान कार्कीमाथि आत्मरक्षात्मक नियन्त्रण थियो, सोही क्रममा लात्ता चल्नुलाई अस्वभाविक भन्न मिल्दैन ।
परिचयपत्र नखुलेका कारण हुलमुलमा पत्रकार पनि परेका रहेछन् । तर कुनै अप्रिय घटना हुन पाएन, सागको अन्तिम खेल सफलताका साथ पूरा भएको दृष्टान्तलाई भुल्नु ठिक हुनेछैन । यसमा डिएसपी कुँवर या सन्तोषसिंह राठौरलाई दोष दिने भन्दा पनि उनको दोष कुन मात्राको हो भनेर व्यवाहारिक विश्लेषण गर्न आवश्यक छ ।
आयोजक मुलुक भएकाले ७ हजार विदेशी खेलाडी, प्रशिक्षक र पाहुना थिए । सवैको सुरक्षाका लागि प्रहरी सफल भयो । प्रहरीले सफल सुरक्षा नदिएको भए सागको महत्व, त्यसले पाएको सफलताको जस राज्य वा सरकारले पाउने थिएन । राज्यको गतिशील र विश्वासिलो निकाय प्रहरी र त्यसका अब्बल सुरक्षा अधिकारीको कर्तव्यका कारणले नै देशको इज्जत कायम भयो भन्नेतिर पो सोच्ने हो कि ?
–११ दिनसम्म रातदिन नभनी प्रहरीले साग सफलताका लागि कुन हदसम्मको काम गरेको थियो भन्ने पनि विश्लेषण गर्नु अनिवार्य हुन्छ । सबै नेपालीको सहभागीताका कारणले नै खेल सम्पन्न भएको हो, जसका कारण आम साधारण, दर्शक, आयोजक सबै हुन् ।
तर त्यसको सुक्ष्म र महत्वपूर्ण पाटोचाहिँ सुरक्षा नै हो भन्नेको अपव्याख्या गर्न हुन्न, साधारण घटनामा दिनहुँ खटेका सुरक्षा अधिकारीको कर्तव्यलाई नेपथ्यमा राखियो भने त्यो अन्याय हुन्छ । कुँवरसहित सुरक्षामा खटिएका सबै प्रहरी इञ्चार्ज, नेपाल प्रहरी संगठन पनि यसको हकदार हुन् । त्यसैले त आयोजकले पनि महत्व ठानेर नै भन्यो– नेपाल प्रहरी र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई शान्तिपूर्ण सुरक्षाका लागि धन्यवाद !