बर्दिया । समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता’ भन्ने मूल नाराकासाथ राजापुर नगरपालिकामा बृहत र्याली मंगलबार सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा शुरु भएको उक्त र्याली राजापुर बजार परिक्रमा गरी राजापुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा ‘हिंसा हुने कारणहरु, लैङ्गिक हिंसा अपराधको जननी हो यसको अन्त्य गरौ’ भन्ने लेखिएको पर्चापम्पलेट समेत वितरण गरिएको थियो । साथै बृहत र्याली पश्चात आयोजित कार्यक्रममा सहभागीहरुवीच अन्तरक्रिया समेत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
कार्यक्रममा राजापुर नगरपालिकाका उप-प्रमुख मनकला थारु, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, राजापुर नगरपालिका-अन्तर्गतका सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिद्यार्थीहरु तथा स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।
साथै गुलरिया नगरपालिका-६ स्थित सोही नगरपालिकाको सभाहल, मधुवन नगरपालिका-६ बसपार्क, बाँसगढी नगरपालिका-५ स्थित वडा कार्यालयको प्रागङणमा, सोही नगरपालिका-९ माछागढ, बारबर्दिया नगरपालिका-६ स्थित वडा कार्यालयको प्राङ्गणमा, ठाकुबाबा नगरपालिका-३ बटनाह, गेरुवा गाउँपालिका-५ पशुपतिनगर, बढैयाताल गाउँपालिका-६ स्थित सोही गाउँपालिकाको सभाहलमा र सोही गाउँपालिका-८ मैइरबस्तीमा समेत छुट्टाछुट्टै सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष कार्यक्रमको रुपमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई ८ वटा स्थानिय तहका सबै वडाभित्र हिंसाबाट पीडित समूहलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम संचालन गर्दै आइरेहको उक्त कार्यालयले जनाएको छ ।