काठमाडौं । प्रहरीसँग अनुमान वा सामान्य सूचनामात्र छैन, तथ्यसहित फेला परेको कुरा के हो भने अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल दाउद समूहले नेटवर्किङ व्यवसायमार्फत नेपालबाट आर्थिक कारोबार चलाउँदैछ ।
यो कुरा जान्दाजान्दै प्रधानमन्त्रीका प्राविधिक सल्लाहकारदेखि बत्तीसपुतलीको अग्र्यानिक चुलो नामक रेष्टुरेण्टमा एकजना प्रोफेसनल पुलिसिङमा कहलिएका डिएसपी, इन्स्पेक्टर केस मिलाउन पुग्छन् र तिनलाई हेडक्वार्टरको टोलीले पहिलो चरणमा हेरेरमात्र फर्किन्छ । त्यसमाथि सरकारी वकिल पैसा बुझ्न तयार भएर बसेको बयान दिन्छन्, अभियुक्त ।
प्रहरीको अपराध महाशाखाले बिहीबार होटल याक एण्ड यतिबाट भारत, लखनउवासी, साइन गु्रप नामक कम्पनीका सिएमडी रसिद नसिवसहित १२ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई छुटाउनका लागि सक्रिय एक नेपालीसहित केही मुस्लिम समुदायका व्यक्तिहरु प्लाष्टिकको झोलामा साढे आठ लाख रुपैयाँ बोकेर बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुगे । आइतबार प्रहरीले तिनलाई पनि झ्याप पारेको छ । बिहीबार पक्राउ परेकामध्ये रसिद नक्कली भारुको कारोबारमा भारतीय प्रहरीबाटै अत्यधिक खोजिएका व्यक्ति हुन् । आइतबारकै दिन ठमेलस्थित होटल वैशालीबाट थप दुईजना पक्राउ परे । जसमध्ये मोहम्मद जिया र मोहम्मद नुरुलेन वार्सी बस्ने तेस्रो तलाको कोठा नं. ३१०२ बाट ३३ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले नेपालीलाई भेला गरेर २५ हजार, पाँच हजार र १० हजार डलर जम्मा गरेमा सो बराबरको रकम कम्पनीबाट थप गरी प्रत्येक महिना ६ प्रतिशत रकम थप दिने प्रलोभन दिएका थिए । आइतबार पक्राउ पर्ने बिचौलिया थिए, मो.जिया, नितिन श्रीवास्तव, रवि तिवारी, अटल त्रिपाठी, मो.सेयाफ, नुरुलएन वारसी, तेजनारायण शुक्ला, राजेशकुमार शुक्ला ।
प्रहरीले ती व्यक्तिहरु नक्कली भारु, लागुऔषधदेखि दाउद समूहका सक्रिय सदस्यसमेत रहेको कुरा आफ्नो च्यानलभरि छरपस्ट पारेको छ । तर, उनलाई छुटाउन प्रधानमन्त्रीका प्राविधिक विज्ञ अस्गर अलीसमेत दबाब दिइरहेका छन् । उनी हिजो मंगलबार ९ बजेर ३० मीनेट जाँदा टेकुस्थित प्रहरी परिसरमा पुगेर पक्राउ अभियुक्त रसिदलाई भेटी फर्किएको त्यहाँको सिसिटिभीमा सुरक्षित छ । उनले पहिला मुद्दाका डिएसपी सन्तोष तामाङलाई आफ्नो परिचय र कामको व्यहोरा सुनाए । परिचय दिँदा नमस्ते गरेका डिएसपीले भेट्नुपर्ने मान्छेको नाम सुनेपछि वास्तै नगरी अर्कोतिर बाटो लागे । स्मरणीय छ, डिएसपी तामाङ केपी ओलीको अघिल्लो प्रमकालमा स्टाफ अफिसरको रुपमा खटिएका व्यक्ति हुन् ।
सरकारी वकिल कार्यालयअगाडिबाट पैसाको थैलोसहित पक्राउ परेका व्यक्तिले सरकारी वकिल रुद्र आचार्यलाई पैसा दिन गएको, तर भेट्न नपाई पक्राउ परेको भनेका छन् । तर, वकिल आचार्यले ती व्यक्तिसँग आफ्नो सम्पर्क, परिचय र कुराकानी नभएको तथा उनले लगाएको आरोप गलत भएको बताएका छन् ।
सन्तोषअघि केही दिन प्रहरी परिसरको मुद्दा फाँटमा काम गरेका एकजना डिएसपीलाई आइजिपी सर्वेन्द्र खनालले खटाएको टोलीले बत्तीसपुतलीमा भेटेपछि प्रहरीभित्र फेरि अर्को आँधी आउने खतरा बढेको छ । डिएसपीलाई त्यहाँ पुर्याउने र फसाउने इन्स्पेक्टर अनिल ठकुरी हुन् भन्ने रिपोर्टिङ भएको छ, आइजिपी सचिवालयमा । सामान्यतया एउटा डिएसपीले चाहँदैमा यस्तो मुद्दा फितलो हुने सम्भावना हुँदैन । तर, जान्दाजान्दै शंकास्पद व्यक्तिसँग सल्लाह गर्नुलाई पनि प्रहरीले गम्भीर कसुरका रुपमा लिएको बताइन्छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।