बारा । कलैया उपमहानगरपालिका-१ स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा समुदाय- प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकास राज खनालको अध्यक्षतामा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा धार्मिक कार्यमा सघाउने गुरु, पण्डित, पुजारी, मोल्बी, लामा समेतलाई लैंगिक हिंसा, बालविवाह, बहुविवाह, दाईजो प्रथा, बोक्सी प्रथा, जातीय छुवाछुत विरुद्ध सचेतनामूलक कार्यक्रम तथा कानूनी प्रावधान लगायत विविध विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै अन्तरक्रिया समेत गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा आयोजित उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेन्द्र बहादुर थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, महिला सञ्जाल बाराका अध्यक्ष वविता जैसवाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु लगायत स्थानीय संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।