काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिरेन्द्र श्रेष्ठले अवकाश पाएका छन्। एसएसपीको ५५ बर्षे उमेरहदका कारण आज (मङ्सिर १९) देखि उनले अनिवार्य अवकाश पाएका हुन्। श्रेष्ठको अवकाशसंगै नेपाल प्रहरीको जनपद समुहतर्फ रिक्त एसएसपीको पद पाँच पुगेको छ। प्रहरी नियमावली अनुसार एसएसपीको ५५ बर्षे उमेरहदका कारण एसएसपी दिलिप बस्नेतले यहीँ मङ्सिर २७ गते अवकाश पाँउदैछन्। एसएसपी बस्नेत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याचमेट हुन्।
त्यस्तै एसएसपी बिभुतिराज पाण्डे र भोजजंग शाहले तीसबर्षे सेवाहदका कारण आगामी पुस ११ गतेदेखि अनिवार्य अवकाश पाँउदैछन्। नेपाल प्रहरीको जनपद समुहतर्फ रिक्त पाँच एसएसपीको लागि बीसभन्दा बढी एसएसपीहरु बढुवाको प्रतिस्पर्धामा छन्। रिक्त पद कम र आकांक्षी धेरै भएका कारण बढुवा समितिको बैठक बस्न सकेको छैन।
गृहस्रोतका अनुसार केही प्रतिस्पर्धी एसपीहरु बिदा बसेरै विभिन्न राजनीतिक दलका नेता तथा शक्तिकेन्द्र मार्फत बढुवाको लागि दबाब दिन थालेपछि गृहसचिव प्रेमकुमार राई तत्काल बढुवाको प्रक्रिया अगाडी बढाउने पक्षमा छैनन्। प्रहरी नियमावली २०७१ मा एसएसपीको लागि गृहसचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजी) सदस्य र प्रहरी महानिरीक्षक (आईजी) ले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्यसचिब रहने ब्यबस्था छ।
गत असोज ७ को मन्त्रिपरिषद् बैठकले प्राविधिक एसएसपी एक र जनपद समुहतर्फको दुई एसएसपी सहित ३ हजार ५९६ जनाको दरबन्दी थप गरेको थियो। गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले तिहार लगत्तै पदपूर्ति गर्ने तयारी गरेता पनि प्रतिस्पर्धी एसपीहरुको अनावश्यक दबाबको कारण बढुवा निकाल्न हम्मेहम्मे परेको स्रोतको दावी छ।
प्रहरीमा अहिले प्राविधिक (प्रहरी संगीत विद्यालय) तर्फ एक र जनपद समूहतर्फ चार एसएसपीको पद रिक्त छ । बढुवा समितिले प्रहरीको संगीत विद्यालयका एसपी राजेन्द्र गुरुङलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्दै छ । संगीत विद्यालयको प्रमुख रहेका एसपी गुरुङ एसएसपीको लागि एक्ला दाबेदार हुन्।
जनपद समुहतर्फ रिक्त पद कम र आकांक्षी धेरै भएको मौका फाइदा उठाउदै केही एसपीहरु पुस १३ सम्म बढुवा लम्बाउने खेलमा लागेका छन्। आफ्नो पदावधि पूरा नभएकोले प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका प्रमुख एसपी चन्द्रकुबेर खापुङ बढुवा लम्बाउने दाउमा रहेको उच्च स्रोतको दावी छ। प्रहरी नियमावली अनुसार एसपीबाट एसएसपीमा बढुवाको लागि तीनबर्ष पदावधि पूरा गरेको हुनुपर्छ। खापुङको आगामी पुस १३ गते एसपीको तीनबर्षे पदावधि पूरा हुँदैछ। पुस १३ गतेपछि बढुवा गर्दा रिक्त एसएसपीको पद आठ पुग्छ। खापुङसंगै बढुवा भएका एसपी राजकुमार लम्साल आगामी पुस ११ गते तीसबर्षे सेवाहदका कारण अवकाश पाउदैछन।
आगामी पुस १३ सम्म बढुवा लम्बिएमा एसपीहरु अनुरागकुमार द्विवेदी, बिद्यानन्द माझी, मधुसूदन लुइँटेल, डिल्लीराज पन्त, ध्रुवराज राउत, मोहनप्रसाद पोखरेल, राजेन्द्रसिंह खड्का, टिकाबहादुर केसी, योगबहादुर पाल समेत बढुवाको प्रतिस्पर्धी बन्नेछन्। खड्का, केसी र पाल राष्ट्रिय अनुसन्धान बिभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्।
जनपद समूहतर्फ हाल रिक्त चार एसएसपीका लागि पनि थुप्रै एसपीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एसपीहरु भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, दुर्गा सिंह (चन्द), जनक भट्टराई, केदार ढकाल, विकासराज खनाल, हृदय थापा, अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणा, चक्रबहादुर सिंह, अर्जुनचन्द ठकुरी, मुकेशकुमार सिंह, कृष्णकुमार महत, गोविन्दकुमार शाह, जनकराज पाण्डे, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, भोलाबहादुर रावल, राजकुमार बैदवार, रमेश थापा, सुदीप राजभण्डारी लगायतका अधिकृतहरु एसएसपी बढुवाका प्रतिस्पर्धी हुन् ।