काठमाडौं । सशस्त्र प्रहरी बलमा एआईजीको दरबन्दी थप नहुने भएपछि भावी नेतृत्व सम्हाल्ने आशामा रहेका दुई डीआईजीले पाँचवर्षे पदावधिको कारण अवकाश पाउने भएका छन् ।
आगामी एक महिनाभित्र एआईजीमा बढुवा हुने मौका पाएमा सशस्त्रका डीआईजीहरु सुरजकुमार श्रेष्ठ र बाबुराम पाण्डेमध्ये एकले हालका आईजी शैलेन्द्र खनालको अवकाशपछि सशस्त्र प्रहरी बलको नेतृत्व गर्ने अवसर पाउने थिए । तर गृह मन्त्रालयले दरबन्दी थप्न अस्वीकार गरेपछि डीआईजीको पाँचवर्षे पदावधिको कारण आगामी पुस १६ गते उनीहरुले डीआईजीबाटै अनिवार्य अवकाश पाउने भएका छन् । उनीहरुसँगै डीआईजी अरविन्द धिताल समेत पाँचवर्षे पदावधिको कारण अनिवार्य अवकाशमा जाँदै छन् । ३० वर्षे सेवाहदको कारण डीआईजी वसन्तकुमार बानियाँ पनि आगामी साता अनिवार्य अवकाशमा जाँदै छन् ।
सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालले एक एआईजीको दरबन्दी थपेर केन्द्रीय प्रवक्ता रहेका डीआईजी श्रेष्ठलाई एआईजी बनाउन भरमग्दुर प्रयास गर्दै आएका छन् । तर सशस्त्रमा कायम गरिएको दुई एआईजीको दरबन्दीमा अहिले पनि तीन एआईजी कार्यरत छन् । एआईजी दरबन्दी रहेको एकेडेमीमा पुष्पराम केसी र मानवस्रोत तथा प्रशासन विभागमा रामशरण पौडेल कार्यरत छन् । एआईजी नारायणबाबु थापा कार्यरत कार्य तथा सीमा सुरक्षा विभागमा एआईजीको दरबन्दी छैन ।
‘कार्य तथा सीमा सुरक्षा विभागका लागि एक एआईजी थप्दा अपुग दरबन्दी स्वतः पूर्ति हुन्छ । श्रेष्ठलाई एआईजी बनाउन दुईटा दरबन्दी आवश्यक हुन्छ । जुन अहिले तत्काललाई सम्भव छैन,’ गृह मन्त्रालय सम्बद्ध उच्च स्रोतले भन्यो, ‘तसर्थ अहिले तत्काललाई एआईजी दरबन्दी थपिने सम्भावना छैन ।’
डीआईजी श्रेष्ठको अवकाश मिति नजिकिँदै गए पनि एआईजीको दरबन्दी थपको लागि चलखेल भने रोकिएको छैन । अवकाशअघि नै एआईजीको दरबन्दी थपेर बढुवा हुने दाउमा रहेका उनले राजनीतिक लबिङलाई तीव्रता दिएको स्रोतको दाबी छ । तर, सरकारले सशस्त्र प्रहरीमा अनावश्यक एआईजी भएको भन्दै डेढ वर्षअघि फाजिल दरबन्दीका एआईजीलाई राजीनामा दिन लगाएर दरबन्दी कटौती गरेको थियो ।
प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीको १०८ टोलीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका श्रेष्ठ सशस्त्रको आफ्नो ब्याचमा पहिलो नम्बरमा थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले आर्थिक चलखेलका आधारमा जथाभावी एआईजीको दरबन्दी थपेर बढुवा गर्दा श्रेष्ठले बढुवाको फर्म भरेनन् । त्यसबेला उनको ब्याचका राजेश श्रेष्ठ र बाबुराम पाण्डेले मात्रै फर्म भरेका थिए । त्यसबेला राजेश श्रेष्ठ बढुवा भए भने पाण्डे बढुवामा परेनन् ।
त्यसबेला बढुवा हुनेहरु एआईजीबाटै अवकाश हुने भएकोले आफू आईजी बन्ने योजनाअनुसार श्रेष्ठले फर्म नभरेको जानकारहरु बताउँछन् । त्यसबेला आईजी बन्ने लोभमा फर्म नभर्दा अहिले डीआईजीबाटै अवकाश पाउने अवस्था सृजना भएपछि श्रेष्ठ निराश बनेको सशस्त्र मुख्यालय स्रोत बताउँछ । त्यस्तै, सशस्त्रकै अर्का डीआईजी प्रवीण श्रेष्ठ पनि एआईजी हुने चलखेलका लागि भारतीय दूतावास छिरेको चर्चा चलेपछि गृह मन्त्रालयले छानबिन शुरु गरेको छ । त्यसो त सशस्त्रका आईजी शैलेन्द्र खनाल पनि बेलाबेलामा बडीगार्ड समेत नलिई प्राइभेट गाडीमा सुटुक्क भारतीय दूतावास छिर्ने गरेको चर्चा चल्ने गर्दछ ।
एआईजी दरबन्दी थप गर्न चलखेलमा लागेका आईजी खनालले डीआईजी बढुवाको प्रक्रिया नै रोकेको आरोप लागेको छ । गतवर्ष चैतमा रिक्त एक डीआईजी र गत महिना रिक्त एक गरी सशस्त्रमा हाल दुई डीआईजीको पद रिक्त छ । तर आईजी खनालले डीआईजी बढुवाको प्रक्रिया अगाडि बढाउन आनाकानी गर्दै आएका छन् । डीआईजी वसन्त बानियाँ, सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धितालले अवकाश पाएपछि एक महिनाभित्र डीआईजीको रिक्त पद ६ पुग्छ ।
त्यस्तै आगामी चैतको दोस्रो साता डीआईजीहरु चिरञ्जीवी अधिकारी र गोविन्द क्षेत्रीले ३० वर्षे सेवाहदको कारण अनिवार्य अवकाश पाउँदै छन् । सशस्त्र प्रहरी बलको डीआईजीको लागि हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, राजेन्द्र शाक्य, किशोर प्रधान लगायतका एसएसपीहरु प्रतिस्पर्धामा छन् ।